ओमानबाट २० जना नेपालीलाई गर्यो देश निकाला (डिपोर्ट)

काठमाडौं := ओमानबाट २० जना नेपालीलाई देश निकाला (डिपोर्ट) गरिएको छ। उनीहरुलाई साइबर ठगी अपराधमा संलग्न भएको आरोपमा देश निकाला गरिएको मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव बिशेष कुमार साहले जानकारी दिए।

सचिव साहका अनुसार ओमानको सोहारको डिटेन्सन सेन्टरमा २० जना नेपालीहरूलाई साइबर ठगी अपराधको अनुसन्धानका लागि राखिएको थियो। उनीहरु मध्ये ११ जनाको प्रक्रिया पूरा गरी ओमानबाट डिपोर्ट गरिएको छ भने बाँकी ९ जनालाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको उनले बताए ।

उनीहरुलाई पनि चाँडै डिपोर्ट गरिनेछ । उनीहरुलाई करिब ७ महिना अगाडि रोयल ओमानको प्रहरीले पक्राउ गरी डिटेन्सन सेन्टरमा दूतावासले जनाएको छ। एनआरएनए नेपाली सोसल क्लब ओमानलाई करिव ६ महिना अघि केहि व्यक्तिहरुबाट फोन तथा म्यासेज आएको र आफ्नो मान्छे दुबईमा काम गरेको र भिजिट भिसामा ओमान छिरेको भन्ने खबर आएको थियो।

एनआरएनए ओमानका नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार दुबईबाट नजिक रहेको ओमानको सोहारमा २०-२५ जना नेपालीलाई प्रहरीले थुनेर राखेको भन्ने जानकारी आएको थियो। पछि बुझ्दै जाँदा उनीहरु एउटा चाईनिज कम्पनीमा नेटवर्ककिङ्ग बिजनेशमा काम गरेको अध्यक्ष खड्काले बताए।

नेटवर्ककिङ्ग बिजनेश गर्ने क्रममा नेपाली मात्र नभएर अन्य मुलुकका गरी करिव १०० जनालाई ओमान प्रहरीले पक्राउ गरेको थियो। उनीहरु जेल परेको थाहा पाए देखि नै सोहारमा रहेका एनआरएनए केन्द्रीय सदस्य देवन खड्काले पहिलो दिनदेखि नै उनीहरुलाई गएर बुझ्ने,भेट्ने र नेपालमा रहेका परिवारहरु सँग पनि कुराकानी गराईदिने काम गरे।

देवनले जेलमा रहेका र दूतावासबीच समन्वय भूमिका खेलेका कारण स्वदेश फर्काउन सम्भव भएको बताईएको छ। पछिल्लो समय दलालको प्रलोभनमा परी आकर्षक रोजगारी पाउने आशमा भिजिट भिसामार्फत नेपाली महिला त्यहाँ पुगेर उद्धारका लागि हारगुहार गर्नेको संख्या पनि ठूलो रहेको पाईन्छ।

समाचार स्रोत : योगेन्द्र योगी / राजधानी राष्ट्रिय दैनिक ।